पोखरा ।
पेट्रोलियम पदार्थको मूल्य भारी रुपमा वृद्धि भएपछि यसको विरोधमा विराटनगर, रुपनदेही लगायतका ठाउँहरुमा प्रदर्शन सुरु भएको छ । मूल्य वृद्धि फिर्ताको माग गर्दै बुटवलमा एमाले निकठ अनेरास्वियुले प्रदर्शन गरेको छ । त्यस्तै यता, विराटनगरमा पनि यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा चक्काजाम गरेका छन् । सरकारले गएरातिदेखि लागु हुने गरी भारी रुपमा मूल्य बढाएपछि यसको चौतर्फी रुपमा विरोध भईरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा मूल्य वृद्धिको विरोध गर्दै इन्धनमा भारी वृद्धि हुँदा गाडीभाडादेखि लिएर बजार भाउ समेत आकाशिने भएकाले त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गरेका छन् । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँको दरले मूल्य वृद्धि भएको हो । यससंगै प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ भने प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ भएको छ । निगमले हवाई इनधनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँको दर बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १ सय अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ । यसपटक खाना पकाउने ग्याँसको मूल्य भने वृद्धि नगरीएको निगमले जनाएको छ । त्यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएपनि घाटा कायमै रहने निगमले जनाएको छ । मूल्य बढाइएपनि निगमलाई मासिक रुपमा अझै करिब ४ अर्ब ७० करोड घाटा नै रहने र अषाढ मसान्तसम्म करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिती देखिएको निगमद्धारा जारी प्रेस विज्ञप्तिमार्फत भनेको छ ।
प्रमुख मिडिया प्रा.लि.
पोखरा २,अर्चलबोट
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected]
प्रतिक्रिया लेख्नुहोस्:-