पोखरा ।
सरिता गुरुङ्ग
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आफ्नो ४१ औं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । आज पोखरा स्थित होटल दिपसागरमा संघले सांगठनिक रुपमा यो व्यवसाय विकसित भएको ४१ औं वर्षमा प्रवेश गरेको शुभअवसरमा एक कार्यक्रमको आयोजना गरि भव्य रुपमा आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
संघले प्रतेक दुई वर्षको अन्तरालमा प्रदान गर्दै आईरहेको रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार समेत आज सोही कार्यक्रममा प्रदान गर्नुका साथै पोखरा फोटोग्राफी अवार्ड २०७९ घोषणा समेत गरेको छ ।यस पटक तनहुँका फोटोग्राफर कुमार मोहन श्रेष्ठलाई रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार प्रदान गरिएको छ ।
विशेषगरी फोटोग्राफी व्यवसाय तथा फोटोको माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गर्दै आईरहेको यस पुरस्कार तनहुँका श्रेष्ठलाई प्रदान गरिएको हो ।
५० वर्षदेखि निरन्तर यसै क्षेत्रमा लागि रहेका र हाल दमौलीमा सम्झना फोटो स्टुडियो संचालन गरिरहेका उनलाई पुरस्कार राशि नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।
गण्डकी प्रदेशभरबाट प्राप्त सिफारिसको आधारमा ११ जिल्लामध्येबाट श्रेष्ठ छनौटमा पर्न सफल भई सो पुरस्कार उनलाई प्रदान गरिएको संघका अध्यक्ष जनकराज तिवारीले बताएका छन् ।
अध्यक्ष तिवारीले लामो इतिहास बोकेका फोटोग्राफर श्रेष्ठलाई पुरस्कृत गर्न पाउँदा सम्पूर्ण फोटोग्राफरको शिर उचो भएको बताएका छन् ।वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्बा गरि यस अघि चार जना फोटोग्राफर सो पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।
पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छबि र तिर्थ श्रेष्ठको शुभविवाहको २५ औं वर्षको उपलक्ष्यमा आफ्नो पिता स्व.रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको नाममा १ लाख ५५ हजारको अक्षयकोषको स्थापना गरी सो पुरस्कार प्रतेक दुई वर्षको अन्तरालमा प्रदान गर्दै आईरहेको छ ।
४० वर्षसम्म आईपुग्दा पोखरा फोटोग्राफर संघले रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार २०७० मा स्थापना र २०७५ मा पोखरा फोटोग्राफी अवार्ड अन्तर्गत अशोक ग्रुपद्धारा मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड, रामतारा दैनिक जनजिवन फोटोग्राफी अवार्ड, सांस्कृतिक तथा पर्यटन फोटोग्राफी अवार्ड, वातावरण तथा प्रकृति फोटोग्राफी अवार्ड र २०७७ मा स्थापना भएको मिराज प्रोट्रेट फोटोग्राफी अवार्ड तथा मिराज वेडिङ भिडियोग्राफी अवार्ड गरी आठ वटा विधाका अवार्डको लागि अक्षयकोष स्थापना गरी सफल रुपमा संचालन समेत गर्दै आईरहेको छ ।
पोखरा फोटोग्राफी अवार्ड कार्यक्रम भने भाद्र ३ गतेका दिन हुने संघले आजको कार्यक्रम मार्फत जानकारी दिएको छ । त्यस्तै यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कानुन, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दु कुमार थापाले विभिन्न उद्योगी व्यवसायीहरुको उद्देश्य नाफा कमाउने मात्र नभइ विभिन्न सामाजिक उत्तरदायीत्वका कामहरु समेत उनीहरुले निर्वाह गर्ने गरेको बताएका छन् ।
उनले यस संघले पनि सामाजिक उत्तरदायीत्वलाई राम्रोसंग वहन गर्दै विभिन्न उदाहरणीय काम गरेकोमा खुशी समेत व्यक्त गरेका छन् । उनले अहिले कोभिड–१९ पछि व्यवसायहरुलाई अलि सहज परिस्थिति नभएको र बैंकमा पनि लिकुइडिटिको अभाव भएको कारण बैंकिङ्क कारोबार गर्न अप्ठ्यारो स्थिति भएको बताएका छन् ।
धेरै उद्योग व्यवसायहरु धरासय अवस्थामा भएको र यस्तो अवस्थामा व्यवसायीहरुले निकै संघर्षपूर्ण तरिकाले जिविर्कोपार्जन गर्नु परिरहेको बताएका छन् । उनले यसमा गण्डकी प्रदेश सरकारले व्यवसायीक जीवन रक्षा कोष भनेर अहिलेको बजेटमा पनि १ अर्बको कोष खडा गरेको र विशेष गरेर कोभिडबाट प्रभावित व्यवसायहरुलाई ब्याज प्रदेश सरकारले तिरिदिने गरि यस कोष स्थापना गरेको जानकारी दिएका छन् ।
विगत २ वर्ष अगाडी बाटै यो कायम भएको र यस वर्ष पनि यसलाई निरन्तरा दिएको जानकारी उनले गराएका छन् । प्रदेश सरकारले व्यवसायहरुलाई एउटा लगानी मैत्री वातावरण अर्थात व्यवसायीक मैत्री नियम कानुनहरु बनाउने तथा व्यवसायको लागि व्यवसायीक वातावरण सृृजना गर्ने बताएका छन् ।
यसैगरी मन्त्री थापाले अहिलेसम्म प्रदेशमा ५४ वटा कानुनहरु बनाइसकेको र ती मध्ये कतिपय कानुनहरु फेरी संशोधन गर्नुपर्ने आवश्यकता भएको र कतिपय कार्यानव्यनमा लानपनि कानुनहरु अलि अप्ठ्यारो भएको हुनाले त्यसलाई परिमार्जन गरेर संशोधन गरि अहिले सदनमा टेबल गरिसकेको पनि बताएका छन् ।
कानुनहरुलाई समय सापेक्ष बनाएर परिमार्जन गर्ने र उद्योगी व्यवसायहरुलाई अलि अनुकुल वातावरण हुने किसिमका नियम कानुनहरु बनाउने हिसाबले आफुहरु लागि रहेको समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-