पोखरा ।
सरिता गुरुङ्ग
“समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार” भन्ने मूल नाराका साथ प्रदेशस्तरीय वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा श्रावण ६ देखि ८ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा सो मेला हुने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका विषयमा विद्यार्थी एवं सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गर्नु, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्नु नै यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।
यसको मेलाको अर्को उद्देश्य भनेको सरोकारवालाको आवश्यकताका आधारमा आवश्यक पर्ने जनशक्तिहरुको उत्पादन र विकास गरी प्रदेशका लागि आवश्यक पर्ने मानव संशाधन पूरा गर्नु पनि रहेको छ ।
यस मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी र रोजगारदाताहरु, घरेलु तथा साना उद्योगीहरु, पेशा एवं व्यवसायसंग सम्बन्धित आधिकारीक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले बैङ्क तथा वित्तिय संस्थाहरुले रोजगारीका अवसरका बारेमा जानकारी दिनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने भएका छन् ।
त्यस्तै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धारमा संचालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरुबाट वृत्ति विकासका बारेमा अवलोकनकर्ताहरुलाई विस्तृत परामर्श सेवा प्रदान गर्ने व्यवस्था समेत उक्त मेलामा मिलाइएको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मेलाबारे जानकारी दिने उद्देश्यसहित आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
उनले यस प्रदेशमा कस्ता दक्ष जनशक्तिहरुको आवश्यकता छन्, कस्ता जनशक्तिहरु बेरोजकार छन् र कस्ता रोजगारदाताहरुले आफ्नो व्यवसाय संचालन गर्नको लागि दक्ष, अ–दक्ष र अर्धदक्ष जनशक्तिहरु नपाएका कारणले व्यवसाय संचालन गर्नेहरुले भोगी राखेका कठिनाईलाई नै ध्यानमा राखेर यी सबैको सहजीकरणको निम्ति नै यस मेलाको आयोजना गर्न लागेको बताएका छन् ।
मन्त्री श्रेष्ठले सबैभन्दा महत्वपूर्ण विषय भनेको गण्डकी प्रदेशमा सक्षम नागरिकहरु उत्पादन गर्नुपर्ने भएको र उत्पादित नागरिकहरुलाई बजारमा व्यवसायकरण गर्नको लागि बजारमा उद्योगधन्दाहरुमा आवश्यक पर्ने जनशक्तिहरुलाई कसरी उत्पादन गरेर सबै पक्षलाई कसरी सहजीकरण गर्न सकिन्छ र जसले जागिर खोजिरहेका छन् उनीहरुलाई जागिर गर्नका लागि माध्यम बनिदिने, जसलाई श्रमशक्ति आवश्यक परेको छ त्यो श्रमशक्तिलाई पनि रोजगारदातासंग मिलाईदिने किसिमको वातावरण सृजना गर्ने नै मुख्य उद्देश्य भएको बताएका छन् ।
मेलामा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली एप्स् टिइएमआइएस प्रयोग सम्बन्धमा सहजीकरण, राष्ट्रिय व्यवसायीक योग्यता प्रणाली र पूर्व सिकाई मान्यता विधिका साथै वृत्ति परामर्श लगायतका स्टलहरु राख्ने व्यवस्था पनि मिलाईएको उनले बताएका छन् ।
मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् भने प्राविधिक शिक्षा र व्यवसायीक सीप हासिल गर्न चाहने विद्यार्थी र उनीहरुका अभिभावकका लागि यसै प्रदेशका प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्बन्धमा जानकारी समेत प्राप्त गर्न सक्ने भएका छन् ।
यस वृत्ति परामर्श तथा रोजगार मेलामा विभिन्न उमेर समूहका गरी १० हजार भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।
मेलालाई सफल र परिणाममुखी बनाउन नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सहयोगमा संचालित नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोग तथा गण्डकी प्राविधिक शिक्षा एवं व्यवसायीक तालिम प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लोखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु, राईट फर चिल्डे«न समेतको सहकार्य रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-