पोखरा ।
सरिता गुरुङ्ग
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेलले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले विहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी संघको ३४ औ महाधिवेशनबाट पोखरा उद्योग वाणिज्य संघलाई सफलता पूर्वक हाँक्न आफुले प्यानलसहित उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन् ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा अर्जुन पोखरेरसंगै पवन कुमार प्रजापतिले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र के.सी., वाणिज्य उपाध्यक्षमा मुना बास्तोला, महासचिवमा केशब बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उप–महासचिवमा हर्क बहादुर अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भरत के.सी., धर्मेन्द्र बाटाजु, माधव बस्ताकोटी, उदय के.सी., दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण कोइराला र हिमनिधि लौडारी रहेका छन् ।
अध्यक्ष पदका प्रत्यासी पोखरेलले उद्योग व्यवसायीहरुका आर्थिक, सांगठनिक र अधिकार रक्षाका लागि संघले खेल्नुपर्ने भुमिका विगतका दिनहरुमा केही कमजोर बनेको हुनाले र विगतमा भएका कमजोरीलाई सुधार्दै संस्थालाई अझै बलियो र सबैले अपनत्व गर्न सक्ने साझा संस्थाका रुपमा स्थापित गर्न आफुहरु एकजुट भएर उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व लिएको यस संघ विस्तारै समुदायबाट टाढा हुँदै गएको अनुभुति आम पोखरेलीले महशुस गरिरहेको यो समयमा संघलाई सबै पोखरेलीको “साझा घर” को रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संघलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने तर्फ आफुहरु केन्द्रित रहने समेत बताएका छन् ।
यस्तै पोखरेलले विदेशी लगानी भित्राउन र स्थानीय लगानी कर्ताहरुलाई थप लगानी गर्न प्रेरणा दिन आगामी २ वर्षको कार्यकालभित्र प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा “ पोखरा लगानी सम्मेलन ” आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
विशेष गरी उनले साना तथा मझौला उद्योग व्यवसाय र स्टार्टअपहरुलाई उनीहरुको व्यवसायको विकास र वृद्धि गर्न एंव प्रत्यक्ष सहयोग गर्न पोखरा उद्योग वाणिज्य संघ अन्र्तगत स्थानीय व्यापार इक्युवेसन सेन्टरको स्थापना गरिने समेत आज उम्मेदवारी घोषणाको क्रममा जानकारी दिएका छन् ।
स्मरण होस्, पोखरा उद्योग वाणिज्य संघको यही भाद्र २४ र २५ गते हुने ३४ औं महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-