पोखरा ।
सरिता गुरुङ्ग
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद (राखेपले) प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा–पत्र दिएको छ ।
गण्डकी प्रदेशमा आश्विन २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुन गईरहेको उक्त प्रतियोगिताको समापन कार्यक्रमका लागि रोखपले विहीबार बालुवाटार स्थित प्रधानमन्त्रीको निवासमा गई प्रधानमन्त्रीलाई निमन्त्रणा–पत्र दिएको हो ।
राखेपका अध्यक्ष एंव युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आज प्रधानमन्त्री देउवालाई उनकै निवासमा गई निमन्त्रणा–पत्र प्रदान गरेको राखेपले जनाएको छ । सो अवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै मन्त्री गहतराज र सदस्य सचिव घिसिङले प्रधानमन्त्री समक्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितका लागि भईरहेको प्रगति विवरणका बारेमा समेत जानकारी गराएका छन् ।
यस अघि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा गई प्रतियोगिता समुद्घाटको निम्ति पत्र प्रदान गरि सकेको छ ।
एक सातासम्म संचालन हुने यस प्रतियोगितामा सहभागी रहने ३६ वटा खेलहरुलाई गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्ये ७ वटा जिल्लाहरुमा खेलाईने भएको छ ।
शुरुवातीको समयमा ११ वटा जिल्लामा नै खेल आयोजना हुने भनिएपनि प्राविधिक कारणले जम्मा ७ जिल्लामा मात्र प्रतियोगिता संचालन हुने भएको छ । बाँकी रहेका ४ जिल्ला तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।
सो प्रतियोगितामा सात वटै प्रदेश, ३ विभागिय टोली र एनआरएन गरी ११ टिमको प्रतिस्पर्धा रहने छ भने प्रतियोगिता संचालनको लागि अब मात्र १५ दिन बाँकी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-