पोखरा ।
सरिता गुरुङ्ग
झण्डै ३९ वर्षपछि गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत मंगलबार भएको फेन्सिङ खेलमा एपिएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन् ।
पोखराको रंगशालास्थित ब्याट्मिन्टन कोर्टमा भएको प्रतिस्पर्धामा पेन्सिङ पुरुष साबरतर्फ एपिएफका गजुरेलले स्र्वण जितेका हुन् ।
साबरमा नेपाल आर्मीकै उपेन्द्र बहादुर शाहीले रजत पदक जितेका छन् भने आर्मीकै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदक प्राप्त गरेका छन् ।
त्यस्तै महिला तर्फको फोयलमा आर्मीकी रमा सिंहले स्वर्ण पदक जितेकी छन् भने एपिएफकी मनिषा राईले रजत पदक हासिल गरेकी छन् । सोही खेलको फोयलतर्फ एपिएफकी मनिषा थापा र अनिता अधिकारीले कास्य पदक प्राप्त गरेका छन् ।
त्यस्तै पुरुषतर्फको ईपीमा बाग्मती प्रदेशका ओमकार सिंहले स्वर्ण जितेका छन् भने आर्मीका राम थापाले रजत पदक प्राप्त गरेका छन् ।यस्तै गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक हासिल गर्न सफल भएका छन् ।पुरुषतर्फको ईपीमा गण्डकीका अधिकारीले पहिलो पटक यस प्रदेशका लागि पदक जित्न सफल भएका हुन् ।
यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फेन्सिङको व्यत्तिगततर्फ पुरुष साबर, पुरुष ईपी र महिलातर्फको फोयल खेलमा निर्णय भएको हो ।
यस खेलको विभिन्न ३ विधाका हालसम्मको अंक तालिका अनुसार २ स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक सहित आर्मी शिर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा बाग्मती प्रदेश आउन सफल भएको छ । बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ ।
यस्तै १ स्र्वण, २ रजत र ६ कास्य सहित ९ पदका साथ शसस्त्र प्रहरी तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिमले १ स्वर्ण पदक प्राप्त गरी चौथो स्थानमा आउन सफल भएको हो भने गण्डकी प्रदेश १ कस्यसहित पाचौं स्थानमा छ ।
त्यस्तै यस खेलमा प्रदेश १ ले अहिलेसम्म कुनैपनि पदक प्राप्त गरेको छैन । प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले पदक वितरण गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-