पोखरा ।
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार र प्रदेशसभा सदस्य पदका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेश (क) को घरदैलो कार्यक्रम पोखरा ३३ मा जारी छ भने प्रदेश (ख)को घरदैलो कार्यक्रम पोखरा २० मा जारी रहेको कास्की पाँचदलीय गठबन्धन क्षेत्र नम्बर २ प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
प्रचारप्रसार समितिका संयोजक केशर निर्दोशीका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, प्रदेश (क)का उम्मेदवार विश्वप्रकाश लामिछाने, कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार लक्ष्मी पाण्डेसहित पाँच दलीय गठबन्धनका नेता र कार्यकर्ता अहिले बागमाराको सिपलिङटारबाट चिरघारी तर्फ घरदैलो कार्यक्रममा सहभागी छन् ।
घरदैलोको क्रममा स्थानीयले आफ्नो ठाउँका समस्या र गर्नुपर्ने कामका बारेमा सुनाएका छन् । धुलोबाटोले आफूहरुको स्वास्थ्य अवस्था नाजुक बनाएको र सिंचाई सुविधा नभएको लगायतका समस्या स्थानीयले बताएका छन् ।
स्थानीय सुकुमायाँ तामाङले सडक स्तरोन्नती गर्न गठबन्धनका दल र उम्मेदवारलाई आग्रह गरिन् । उनले विगतमा जिताएर पठाएका प्रतिनिधिले फर्केर नहेरेको गुनासो गर्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बराल र लामिछानेमा अहिले आफूहरुले भरोसा गरेको बताइन् ।
गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य बरालले विगतमा जनअपेक्षा अनुरुप काम नभएकाले नै आफूहरु विद्रोह गरेर आउनुपरेको बताए ।
उनले जनताको काममा निरन्तर खट्ने प्रतिवद्धता जनाउँदै स्थानीय जनताको साझा समस्या सम्बोधन गर्ने धारणा राखे । ‘विगतमा म आफैले पनि यहाँ भोट माग्न आएको हो । हामीले जिताएकाले तपाई हाम्रो अपेक्षा पुरा नगरेकैले म आफै उम्मेदवारको रुपमा आएको छु ।
हामी पाँच दलकै तर्फबाट संयुक्त रुपमा प्रतिवद्धता जनाउँछौं । खासगरी उम्मेदवारको नाताले म तपाईहरुले जिताएपछि तपाईकै समस्या समाधान गर्न तल्लिन हुनेछु । यहाँको बाटोघाटोको स्तरोन्नति, किसानका समस्या समाधान गर्ने, तपाईहरुकै जीवनस्तर उकास्न लागिपर्ने छु’ उनले भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-