पोखरा, २५ कात्तिक
देशको अर्थतन्त्र अहिले कमजोर छ । कतिपयले देश श्रीलंकाकै बाटोमा जान लागेको भन्दै चिन्ता जनाएका छन् । सरकारले कतिपय वस्तु आयातमा प्रतिवन्ध लगाएको छ । तर, अवस्था अपेक्षित सुध्रिएको छैन । देशको अर्थ व्यवस्थालाई दलहरुले एजेन्डामा समावेश गरेका छन् । कास्की २ (२) मा एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् ।
शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिँदा अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन् । उनले भनिन्, ‘सधै अरुकै भरले देश चल्दैन । अब नेपालमै उत्पादन बढाएर विदेशमा बजार खोज्नुपर्छ । के उत्पादन गर्ने भन्ने योजना हामीसँग छ । विदेशमा रोजगारी खोजेर देशको समृद्धि हुँदैन ।’ अघिल्लो कार्यकालमा प्रदेशका ऐन, कानुन र पूर्वाधार बनाएकाले अबको कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्ने उनले वाचा गरिन् । महिला, दलित, भूमिहीन, श्रमिक, निम्न वर्गका जनताको हितका लागि एमालेको योजना कामयावी भएको उनको भनाइ छ ।
उम्मेदवार गुरुङले भनिन्, ‘भूमीहीन, अव्यवस्थित बसोबासीलाई जग्गा दिने अभियान हामीले थालेका हौं, अब त्यो पूरा हुँदै छ । एकल, स्थिर र जनपक्षीय तवरले सरकार चलाउने सामथ्र्य एमालेसँग मात्र छ ।’ कास्की २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार भन्ने अवस्था जनताको घरदैलोमा जाँदा देखिएको जनाइन् । उनले कास्कीका समस्या सम्बोधन गर्दै जनपक्षीय नीति निर्माण र सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पूरा गर्ने वाचा गरिन् । उनले भनिन्, ‘हामी प्रदेश र संघ दुवैतिर महिला उम्मेदवार एमालेबाट आएका छौं । विगतमा हामीले इमान्दारीपूर्वक काम गयौं । मूल्यांकन गर्ने अभिभारा तपाईहरुको हो ।’
प्रतिक्रिया लेख्नुहोस्:-