काठ्माण्डौं ।
नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले आज बताएका छन् । क्यानको साधारण–सभाबाट पारित भई आयोजना भएको उक्त सम्झौता त्रुटिपूर्ण भएको चन्दले बताएका हुन् ।
अध्यक्ष चन्दले नेपाली टी–२० लिगका लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टसँगै सम्झौता गर्नु आफुहरुको गल्ती भएको स्वीकार समेत गरेका छन् । तर क्यानले कुनैपनि गलत नियत राखेर सम्झौता नगरेको उनले स्पष्ट पारेका छन् ।
सेभेन थ्री स्पोर्टससँग सम्झौता अनुसार काम अघि बढाउन क्यानले दबाब दिन नसक्नु नै आफुहरुको मुख्य कमजोरी भएको र लिगको दौरान विभिन्न कारणले विवाद हुनु क्रिकेट संघको पनि कमजोरी भएको बताएका छन् ।
त्यस्तै अध्यक्ष चन्दका अनुसार उक्त लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक÷दुई महिना भित्रै पाउने जानकारी दिएका छन् । त्यस्तै पुरस्कारको रकम भने सेभेन थ्री स्पोर्टसले दिने सम्झौता भएको र नदिएको खण्डमा अन्तराष्ट्रिय स्तरबाट लिनको लागि पहल गर्ने पनि बताएका छन् ।
उनले उक्त प्रतियोगितामा स्पट फिक्सिङमा क्यानका कुनैपनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार भएको बताएका छन् । उनले सो प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने समेत प्रष्ट पारेका छन् ।
नेपाली पूर्व–क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युराले उनीहरु दुई जनासहित १० जना विरुद्ध मुद्दा अगाडी बढाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-