सरिता गुरुङ्ग
पोखरा ।
पोखरा–बाग्लुङ राजमार्ग दैनिक ८ घण्टा बन्द गरेरै भएपनि अहिले सडक स्तरोन्नतिको काम भईरहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य शुरु गरेसँगै कामलाई तिव्रता दिन उक्त राजमार्गमा यातायातका साधनलाई दैनिक केही घण्टा बन्द गरेर काम गरिरहेको छ ।
सो खण्डको निर्माण कार्य संचालन भईरहँदा यसले विशेषगरी हेमजाका बासिन्दाहरुले निकै सास्ती झेल्नुपरेको छ । यसै सन्र्दभमा केन्द्रित रहेर पोखरा–२५, हेमजाले आज त्यहाँका सरोकारवालाहरुसँगको अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो ।
पोखरा–२५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाको अध्यक्षतामा वडाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले उक्त निर्माणधिन सडक खण्डले धेरै सवारी साधनदेखि लिएर यात्रुहरु, हेमजाका बासिन्दा लगायत अन्य धेरैलाई समस्या परेको बताएका छन् ।
उनले कुनैपनि विकासको परियोजना आफैमा एउटा स्वागत योग्य भएको र विकासका कामहरु सबैका लागि अतिनै अपरिहार्य भएको बताए । उनले साविक हेमजा गा.वि.स भएको र त्यस समय विशेषगरी हरिचोक र सिम्पानीदेखि याम्दी पुलसम्म बाटो अत्यन्तै सांघुरो हुँदा साविक हेमजा गाउँलाई नै कोर सिटिबाट नै छुट्टाईएको हो कि भन्ने थियो । त्यससमय कोर सिटि पोखरासँग संलग्न नहुँदा धेरै आयोजना र सुविधाहरुबाट बञ्जित हुनुपरेको जस्तो अवस्था थियो । तर अहिले निर्माणधिन अवस्थामा रहेको मध्यपहाडी राजमार्ग अन्र्तगतको यस योजनाले समग्र पोखरा–२५ लाई निर्माण कार्य सम्पन्न भएपछि पक्कैपनि लाभ हुने आशा यहाँका स्थानीयबासिन्दाहरु र आफुलाई पनि पूर्ण विश्वास रहेको जानकारी दिएका छन् ।
यस सडक खण्ड फराकिलो भएपछि यसबाट यहाँका बासिन्दाहरुलाई फाइदा हुने बताएका छन् । उनले सडकको डिपिआर हेर्दा अत्यन्तै आकर्षक र सुविधाजनक भएको तर यसले यहाँको विकासमा कस्तो प्रकारको महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने लागेको बताएका छन् ।
कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, बजारिकरणदेखि लिएर शहरकिरण धेरै कुराहरुमा अझ धेरै विकासका सम्भावनाका ढोकाहरु खुल्नेमा विश्वस्त भएको समेत जनाए ।
दिर्घकालिन रुपमा यसबाट धेरै सहज र लाभ हुने देखिएतापनि निर्माण प्रक्रियाको क्रममा केही असुविधाहरु भएको बताएका छन् । तर अहिले यात्रुहरुले जे भोगिरहेका छन् यो अवस्था देख्दा अलि बढी नै असुविधा भयो कि र सुरक्षाको दृष्टिकोणले अलि जोखिम हुन गएको छ कि भन्ने लागेको जनाएका छन् ।
निर्माण कार्य संचालनले गर्दा बाटो झन सांघुरो भएको, धुलोले यात्रा गर्नै नसक्ने अवस्था सृजना भएको र जोखिम धेरै भएको हुँदा यसले आवत–जावतमा समस्या उत्पन्न भएको बताउँदै यसले सबैभन्दा बढी समस्या हेमजाका बासीन्दाहरुलाई भएको जानकारी दिएका छन् ।
यस यावत समस्याहरुलाई तत्कालका लागि निर्माण सम्पन्न नभएसम्म कसरी सहज र समाधान गर्न सकिन्छ त्यसतर्फ सम्बन्धीत सबैको ध्यान जान जरुरी भएको प्रष्टाएका छन् । यसै विषयमा नै केन्द्रित भएर आफहरुले सरोकारवालाहरुसँगको अन्तरकृया कार्यक्रमको आयोजना गरेको बताए ।
सो अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले करौडौं लगानीमा बाटो निर्माण कार्य भईरहेको र सो निर्माण कार्यबाट सर्वसाधारण जनतालाई सास्ती भएको देख्दा–देख्दै पनि कसैको ध्यान त्यसतर्फ केन्द्रित हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।
कामदारमा देखिएको ढिला–सुस्ती, अल्छीपनाले अबको २ वर्षमा पनि जौबारीको भिर कटान नहुने भन्दै सरोकारवालाहरुले गुनासो समेत पोखेका छन् ।
उनीहरुले कुनैपनि बैकल्पिक बाटोको निर्माण नगरी हचुवाको भरमा सो सडक खण्ड निर्माण शुरु गर्दा यसले पैदलयात्री, स्थानीयबासिन्दा, सवारीसाधन र अन्य यात्रुहरुले समस्या झेल्नुपरेको जनाएका छन् ।
हेमजा जानको लागी त्यहाँ धेरै बैकल्पिक बाटाहरु हुँदा–हुँदै पनि किन ती बाटोहरुको समयमा ट्रायक खोलेर व्यवस्थित गर्ने तर्फ ध्यान गएको छैन भन्दै प्रश्न गरेका छन् ।
सो कार्यक्रममा उनीहरुले कमसेकम दैनिक केही समय बाटो बन्द गरेर भिर कटानको काम गरेपछि त्यसलाई पन्छाएर बाटो सफा पनि गर्नुपर्ने बताएका छन् ।
बाटो सफा नगर्दा यसले ठूलो दुर्घटनाहरु हुन सक्ने, झन बाटो सांघुरो भएर ट्राफिक व्यवस्थापनमा समस्या पैदा भई अप्ठ्यारो परिस्थिति सृजना हुने समेत स्पष्ट पारेका छन् ।
कार्यक्रममा सरोकारवालाहरुले उक्त मध्यपहाडी लोकमार्ग खण्डको ठेक्का कति समयको भएको, कति लागतमा ठेक्का सम्झौता भएको, कति समयावधिभित्र काम सम्पन्ने हुने जस्ता प्रश्नहरु समेत राखेका थिए ।
सोही प्रश्नको उक्तर दिँदै उक्त मध्यपहाडी लोकमार्गका इन्जिनियर मिलन श्रेष्ठले हरिचोकदेखि याम्दी सडक खण्डको दुरी जम्मा २.२ कि.मि.भएको जानकारी दिएका छन् ।
उनले उक्त खण्ड ६ लेनको बन्ने बताउँदै अहिले सो जौबारी खण्डको सडक निर्माण कार्यमा भौतिक प्रगति १५ प्रतिशत र वित्तिय प्रगति १० प्रतिशत भएको बताएका छन् ।
विशेषगरी जौबारीको भिर विशाल भएको र यसको कटानले असहजता भएतापनि निर्माण कार्य सम्पन्न भईसकेपछि धेरै सुविधा हुने स्पष्ट पारेका छन् ।
उनले बर्खा पनि आउँदै गरेको हुदाँ निर्माण कार्य छिटो सक्नुपर्ने भएको बताए । इन्जिनियर श्रेष्ठका अनुसार यदि भिर कटानको काम समयमा नै सम्पन्न हुन सकेन भने अहिले बैकल्पीक रुपमा प्रयोग गर्दै आएको बाटो पनि पानीका कारणले बाटो नै नरहने परिस्थिति सृजना हुने जानकारी दिएका छन् ।
केही समय बाटो बन्द गरेर काम भएतापनि लगातार काम गरेको जस्तो नतिजा नआउने स्पष्ट पारेका छन् । उनका अनुसार जौबारीको भिर कटानको काम निकै अप्ठ्यारो खालको काम भएको र जोखिम पनि उत्तिकै भएकोले काम ढिलो गरे जस्तो देखिनु स्वभाविक भएको बताए ।
उनले अहिले जुन बाटोको समस्याले यात्रुहरुले समस्या झेल्नुपरेको छ त्यसको लागि अन्य बैकल्पिक बाटोहरुको लागि पनि सम्बन्धीत निकायहरुसँग छलफल भईरहेको समेत बताएका छन् ।
यस्तै जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक–बगर–शिक्षा कार्यालय–केआइसिँह पुल–दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई बिन्ध्यवासिनीचोक–सराङकोट–कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
हेम्जातर्फबाट आउने सवारी साधनहरूलाई भने जौवारीपुल–दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
यस पोखरा–बाग्लुङ राजमार्ग अन्तरगत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक खण्डको निर्माण कार्यका लागि मोतिदान कन्स्ट्रक्सन प्रा.लि.सँग गत श्रावण १४ गते ४८ करोडमा ठेक्का सम्झौता भएको थियो ।
श्रावणमा सम्झौता भएतापनि विविध कारणले गर्दा उक्त खण्डको काम समयमा नै शुरु हुन सकेको थिएन । उक्त खण्ड सम्झौता भएको करिब दुई महिनापछि मात्र काम थालनी भएको हो । काम थालनी भएको अवधिबाट अहिलेसम्म आइपुग्दा जम्म २५ प्रतिशत मात्र काम भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-