सरिता गुरुङ्ग
पोखरा ।
पोखरामा मायाको प्रतीक रानीमहलको झल्को दिने “पाल्पा हाउस” केही दिनभित्रै सञ्चालनमा आउने भएको छ । पाल्पा हाउस प्रा.लि.ले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो ।
गण्डकी प्रदेशको प्रमुख पर्यटकीय स्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीय स्थल तानसेनलाई जोड्न पोखराको न्यूरोडमा पाल्पा हाउस प्रा.लि.द्धारा “पाल्पा हाउस” को भवन निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याउने भएको हो ।
यही चैत्र १० गते शुक्रबार यस पाल्पा हाउसको उद्घाटन हुने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा सो हाउसको उद्घाटन गर्ने कार्यक्रम तय भएको पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
करिब २ करोडको लागतमा बनेको “पाल्पा हाउस” को बनावोट निकै आकर्षक रहेको छ । पोखराको न्यूरोडमा दैनिक आवात–जावत गर्ने पोखरेलीहरुका साथै बाह्य पर्यटकलाई समेत यस भवनको बनावटले आकर्षित गर्ने अध्यक्ष घिमिरेले बताएका छन् ।
विशेषगरी यस हाउसको मूल उद्देश्य भनेको नै पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन र सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने रहेको छ । अध्यक्ष घिमिरेका अनुसार यस “पाल्पा हाउस” मा पाल्पाको चिनारीका रुपमा रहेको पाल्पाली ढाका, करुवा लगायत फलफूल र कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा यहीबाट उपलब्ध गराइने बताएका छन् ।
त्यस्तै यसै हाउसबाट कास्कीको पहिचानको रुपमा रहेको जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण समेत गरिने भएको छ । एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यसहित निर्माण भएको यस “पाल्पा हाउस” मा १७ वटा सटरहरु रहेका छन् । ती सबै सटरहरुमा पाल्पा र पोखराको पहिचान बोकेको छुट्टा–छुट्टै सामाग्रीहरु बिक्रीवितरणका लागि राखिनेभएका छन् ।
अध्यक्ष घिमिरेका अनुसार यस हाउसमा रहेको रानीमहल रेष्टुरेण्टबाट पाल्पाली परिकार जस्तै चुकाउनी, बटुक, मिसमास, छोयला लगायतका चलनचल्तीका खानाका परिकारहरु विभिन्न स्वादमा पस्किने पनि बताएका छन् ।
यस “पाल्पा हाउस” ले समग्रमा कास्की र पाल्पा मात्र नभएर गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धनसहित आर्थिक गतिविधिमा टेवा पु¥याउने आफुहरुको विश्वास रहेको उनको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-