पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना हुने भएको छ । उच्च अदालत पोखराले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत भएको पोखरा–१८ को पुनः मतगणना गर्न आदेश दिएको हो ।
उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधिस डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त ईजलासले २०८० बैशाख २० गते पुनः मतगणना गर्न फैसला दिएको हो । तत्कालीन समयमा भएको मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए ।
उनले नेकपा एमालेका पुस्कल बहादुर थापालाई ३ मतको मतान्तरले पराजित गर्दै वडा अध्यक्ष पदमा निवार्चित भएका थिए । तर थापाले त्यस समय निर्वाचन आयोगले खसेको मतको मुचुल्का उठाए भन्दा ९ मत कम भएको भन्दै २०७९ जेष्ठ १८ गते उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका थिए ।
कुल मतदाता संख्या ५ हजार ८ सय ४३ रहेको सो वडामा जम्मा ४ हजार ३ सय ४८ मत मात्र खसेको थियो । तर खसेको मतमा समेत ४ हजार ३ सय ३९ मत मात्र गणना भएपछि थापाले असन्तुष्टि व्यक्त गरेका थिए । बिजयी तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएर बिजयी हुँदा पराजित थापाले १ हजार ६ सय ४० मत ल्याएका थिए ।
पराजित भएका थापाले हार जित स्वभाविक भएको र जसले जिते पनि जनताको मतको सुरक्षा हुनुपर्नेमा उल्टै ९ मत हराउदाँ अलोकतान्त्रिक भएको भन्दै अदालत गुहारेका थिए । उनले हालेको रिटमा आज अदालतले सुनुवाई गर्दै तत्कालीन समयमा गरिएको मतगणना बदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराको रजिस्टार कार्यालयले जनाएको छ ।
पुनः मतगणना उच्च अदालतकै रोहवरमा गर्न आदेश दिएको थापाकातर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापाले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-