काठमाण्डौं ।
सरकारले क्षेत्रीय स्तरमा तनावरहित मित्रताका निम्ति आवश्यक पहलकदमी लिने घोषणा गरेको छ । बिहीबार सरकारको नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यस्तो घोषणा गरेकी हुन् ।
संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवम् पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकारको प्राथमिकतामा परेको छ ।
सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने र नेपालको भूमि कुनैपनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता छ ।
भूपरिवेष्टित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने तथा दिगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने, आपसी सहयोगका क्षेत्रहरू बिस्तार गरी सहकार्य र अन्तर आबद्धतालाई बढवा दिने समेत सरकारको कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-