पोखरा ।
पोखराको बुढीजार स्थित जुनियर सिटिजन्स एकेडेमी (जेसिए)ले सञ्चालन गरेको समर क्याम्प सफलताका साथ सम्पन्न भएको छ । चैत्र १९ देखि ३० गतेसम्म सञ्चालन भएको उक्त जेसिए समर क्याम्प विहीबार सम्पन्न भएको हो ।
विशेषगरी उक्त समर क्याम्प विद्यार्थीको सर्वाङ्गगीण विकासका साथै अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यका साथ सञ्चालन भएको सो कार्यक्रमका संयोजक सूर्य भट्टराईले जानकारी दिएका छन् । १२ दिनसम्म सञ्चालन भएको उक्त क्याम्पमा विद्यार्थीहरुको उत्कृष्ट सहभागीताले उत्साहित र कार्यक्रम फलदायी बनाएको उनले बताएका छन् ।
संयोजक भट्टराईका अनुसार विद्यालयले विभिन्न शैक्षिक गतिविधिलाई उत्तिकै प्राथमिकता दिईरहेको बताउँदै सबैभन्दा बढी जिवन उपयोगी सीपलाई पहिलो प्राथमिकतामा राखेको बताए । सो समर क्याम्पमा लेखनाथका दर्जन भन्दा बढीका विद्यालयका १ सय भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
उक्त क्याम्पमा सञ्चालन भएका विभिन्न कार्यक्रमहरु जस्तै नृत्य, संगीत तथा गायन, चित्रकला, खेलकुद लगायतमा ५ वर्षदेखिका छात्र र छात्राले सहभागीता जनाएका थिए ।
यसैगरी उक्त समर क्याम्पमा सञ्चालन भएको विभिन्न गतिविधिहरुमा खेलकुदमा मनिष के.सी, चित्रकलामा विश्व कला यात्री नगेन सिंह, संगीत तथा गायनमा लक्ष्मी त्रिपाठी, नृत्यमा अन्जना गुरुङ, तेक्वान्डोमा अस्मिता गुरुङ र सुनिल ओझाले कार्यक्रम अवधिभर प्रशिक्षण दिएका थिए ।
त्यस्तै चित्रकलाका प्रशिक्षक विश्व कला यात्री नगेन सिंहले विद्यालयले अन्य गतिबिधिलाई पनि उत्तिकै प्राथमिकता दिएर समयसमयमा यस्ता कार्यक्रमहरु आयोजना गरेमा विद्यार्थीहरुको भविष्य उज्वल हुने र विद्यार्थीहरुको मोबाईल मोह पनि घट्ने बताउदैं अभिभावकहरुलाई पनि आगामी दिनमा विद्यालयमा आयोजना हुने यस्ता महत्वपूर्ण कार्यक्रममा आफ्ना बाबुनानीहरुलाई समेत सहभागी गराउन आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-