पोखरा ।
पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ ।
यसैगरी बाराही घाट ‘ए’ द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाा पुरस्कार पाए । सान्त्वना पुरस्कार स्वरुप पाँच हजार रुपैयाा प्रदान गरियो ।
पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई वैभव पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सहभागीहरु पहारीघाटबाट डुंगा खियाएर ताल पारी रहेको लेकहाउसमा पुगी पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीन जना सहभागी रहेका थिए ।
नयाँ बर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
पंचेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले व्यक्त गरे । प्रतियोगिताका लागि संगठनले निःशुल्क डुंगा उपलब्ध गराएको संगठनका सचिव शिव जिसीले जानकारी दिए ।
प्रतियोगिताका अवसरमा नमस्ते हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । होटल बाराहीले प्रतियोगिताको प्रायोजन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-