पोखरा, १ बैशाख ।।
साहित्यको उर्बर भूमि पोखराको बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिष्ठानले २०८० काे भित्ते पात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ । शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि बहादुर बरुवालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सिना रहनु भएको थियो । उहाँले शुक्लाले सहि समयमा नै भित्तेपात्रो बिमोचन गरेकोमा खुसी ब्यक्त गर्दै हरपल साहित्यलाई जगेर्ना गर्दै साहित्यको यस भूमिलाई हराबरा बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
त्यस्तै प्रतिष्ठानका अध्यक्ष बरूवालले हरेक कठिनाइका बाबजुद पनि शुक्लाले साहित्यीक कार्यक्रमहरू गर्दै आएको र अागामी दिनहरूमा पनि विभिन्न कार्यक्रमहरू संचालन गर्दै जाने बताउनु भयो भने प्रतिष्ठानका तर्फबाट नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नु भएको थियो । साथै कार्यक्रममा भित्तेपात्राे प्रकाशन उपसमिति संयाेजक कमला शर्मा बास्ताेलाले पात्रो प्रकाशन सम्बन्धि आफ्ना भनाईहरू राख्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गाैतम वस्नेत, सल्लाहकार कुल बहादुर खत्री , शिव प्रसाद त्रिपाठी, मानार्थ सदस्य नरहरि भट्टराई, पाेखरा महानगरपालिका वडा नं १६ का पूर्व वडा सदस्य मेहरमान थापा, मानव अधिकारका लागि एकल महिला अध्यक्ष दुर्गा के.सी. लगायतले राख्नु भएकाे थियाे । भने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गाैतम वस्नेत र सल्लाहकार शिव प्रसाद त्रिपाठीले कबिता र गजल प्रस्तुत गर्नु भएको थियो ।
साथै भित्तेपात्रो उपसमिति संयोजक कमला शर्मा बास्तोला सदस्य सचिव संजय थापा, सदस्य क्रमशः मोहन सुनार, लक्ष्मी पौडेल र सकुन्तला के सीलाई खादा र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रम संचालन प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-