पोखरा ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेस वीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अगालेर हिड्नु पर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
वीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली काँग्रेसले छाड्न नहुने उनको भनाई थियो । ‘विचार बिनाको राजनीतिबाट कुनै गन्तब्यमा पुग्न सकिदैन, उनले भने–पार्टीको आउँदो १५ औं महाधिवेशनबाट नेपाली काँग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीको रुपमा विकास गर्नु पर्छ । ’
‘नेपाली काँग्रेस प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी हो, काँग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध र यि कुरामा कसैसँग सम्झौता गर्दैन्, उनले भने– नेपाली काँग्रेसको विचारलाई गाउँगाउँसम्म पु¥याएर आम युवा तथा महिलालाई नेपाली काँग्रेसप्रति आकर्षित गर्न जरुरी छ ।’तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किएका डा. कोइरालाले तनहुँमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचन जित्ने दावी समेत गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई आफूले यस अघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनले चितवनमा निर्वाचन लड्न मानेनन् नेता कोइरालाले भने ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले नेपाली काँग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र संगठन विस्तारमा जुट्न सुझाव दिए ।
सरकारमा रहेको बेला पार्टी विस्तारमा जति सजिलो हुन्छ नहुँदा कठिन भएकाले काँग्रेसले युवालाई समेट्दै पार्टीलाई नयाँ सिराबार अगाडि वढाउन जरुरी भएको बताए । पार्टीभित्र विचारभन्दा पनि व्यक्तिवादी स्वार्थ हावी हुँदा पार्टी कमजोर भएको बताउँदै नेता गौतमले पार्टीको १५ औं महाधिवेशनबाट वैचारिक रुपमा अगाडि बढाउन सुझाव दिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी भएको बताए । युवाहरुको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउँदै नेता शर्माले अब काँग्रेसले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधिहरुको पार्टीलाई अगाडि वढाउनका लागि सुझावहरु दिएका थिए ।
नेपाली कांगे्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रम प्रदेश उपसभापति कल्पना तिवारीले समापन गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-