पोखरा ।
धन बहादुर गायकको ६० औं जन्मजयन्तीको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको साथै पोखरामा कलाकारिता अक्षयकोष स्थापना गरिएको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको प्रमुख आतित्यथामा भएको सो कार्यक्रम धन बहादुर गायक मौलिक बाजा संरक्षण स्मृति प्रतिष्ठानको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानमा भएको हो ।
सो अवसरमा उक्त कार्यक्रममा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको कलाकारिता अक्षयकोष स्थापना गरिएको पोखरा प्रज्ञाप्रतिष्ठानका सदस्य एवं धन बहादुर गायकका छोरा दिलिप गायकले जानकारी दिएका छन् ।
अक्षयकोष स्थापनाका लागि पदमराज ढकाल, क्या.पूर्ण बहादुर ह्याल्मो, तारा बहादुर गुरुङ्ग, बुद्धिमान गुरुङ (धम्फु), विरेन्द्र के.सी, अर्जुन श्रेष्ठ र हर्क गायकले सहयोग गरेका थिए । स्व. गायक एक कुशल कलाकार र सारंगी बाधक पनि थिए । उनले थुप्रै गीत गाएका छन् । उनले झलकमान गन्धर्व पाठशाला पनि स्थापना गरेका थिए ।
स्व. गायकले संगीत प्रशिक्षण केन्द्र पोखरामा स्वदेशी तथा विदेशीलाई सारंगी प्रशिक्षण समेत दिने गर्थे । सो कार्यक्रममा झलकमान गन्धर्व पाठशालामा प्रशिक्षण लिँदै गरेका तेस्रो ब्याचका प्रशिक्षार्थीले उत्कृष्ट सारंगीको धुन प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा हिमाली सांस्कृतिक परिवारकातर्फबाट नृत्य, संगीत प्रशिक्षण केन्द्रकातर्फबाट गीत, पोखरा संगीत समुहका अध्यक्ष होम गुरुङको नेतृत्वमा स्व.धन बहादुर गायकका गीतहरु सांगेतिक धुनमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु तारापति सुवेदी र पार्वती जिसीले “यो दाजुको मिर्मिरे”, रामजी पौडेल र मधु चापागाईले “बेली र चमेली”, राजु आर डीले “फुल मायामा नभुल” बोलको गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा गन्र्धव आमा समुहले रत्यौली समेत प्रस्तुत गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, गुरुङ चलचित्रका महानायक तारा बहादुर गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सुर्य बहादुर गायक, कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्ण बहादुर ह्याल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, सदस्य–सचिव मन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।यस्तै कार्यक्रम सञ्चालन धन बहादुर गायक मौलिक बाजा संरक्षण स्मृति प्रतिष्ठानका सचिव भीम गायकले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-