पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन् । उनले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै गण्डकीमा उनको नेतृत्वको सरकार ढलेको छ ।
माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पौष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएसँगै गण्डकीमा पनि माओवादीले चैत्र १० गते विश्वासको मत फिर्ता लिएको थियो ।
माओवादीले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका अधिकारीले आज प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका थिए ।
मुख्यमन्त्री अधिकारीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ मत परेको थियो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३५ मत परेको थियो ।
यसअघि अधिकारीले संघका कारण प्रदेशमा विभाजित नहुन आग्रह गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर उनले गरेको आग्रह व्यर्थ भएको छ ।
अधिकारीलाई नेकपा एमालेका २२ र राप्रपाका २ सांसदले विश्वासको मत दिएका थिए । तर नेपाली कांग्रेसका २७ र नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिएपछि विश्वासको मत लिने उनको प्रयास असफल भएको हो ।
६० सदस्यीय गण्डकी प्रदेशमा , कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ ९सभामुखबाहेक० , राप्रपाको २ र एकजना स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-