पोखरा ।
सरकारले खोज, अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । उनको यस कार्यक्रमलाई समर्थन गर्दै पोखरामा पनि ३६ वर्षीय अमरसिंह पुन नाम गरेका एक युवाले आजबाट धर्ना दिन सुरु गरेका छन् ।
उनको यस कार्यक्रमलाई सफल बनाउन पोखराका विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले साथ दिएर हौसला बढाएका छन् । विभिन्न माग राख्दै आजबाट काठ्माण्डौंमा धर्ना दिन सुरु गरेका महावीरको यस कार्यक्रमलाई पुनले पनि समर्थन जनाएका हुन् । उनले जिल्ला प्रशासन कार्यालय कास्की स्थित शहिद चोकमा धर्ना दिएका छन् ।
उनीहरुले राखेका मागहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने र त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।
यस्तै यसका लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, यसको प्रवद्र्धन गर्न व्यवहारिक अनुसन्धान र विभाग खोल्नुपर्ने, उद्यमशीलताको विकास गर्न नव उद्यमी पहिचान र प्रवद्र्धन समिति बनाउनुपर्ने, स्टार्ट–अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने लगायतका मागहरु छन् ।
सरकारले जबसम्म आफुहरुको आविष्कार केन्द्रले राखेका मागहरु सम्बोधन गर्दैन तबसम्म यस धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनले जानकारी दिएका छन् ।
यस्तै माइतीघरमा धर्ना दिएका यस आविष्कार केन्द्रका संस्थापक पुनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफुहरुको मागको विषयमा जानकारीसमेत गराएका थिए ।
सरकारबाट आफुहरुको माग सुन्ने काम मात्र भएको तर सम्बोधन नहुँदा उनीहरुले आजबाट दबाव स्वरुप धर्ना सुरु गरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।
त्यस्तै यस केन्द्रलाई गण्डकी प्रदेश सरकारले समेत पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको परिसर आविष्कारको लागि प्रयोग गर्न दिएको छ ।
हाल त्यहाँ १० वटा विभिन्न नयाँ आविष्कारहरु भइरहेका छन् । त्यसमध्ये नेपालको परम्परागत रक्सी बनाउने प्रविधिलाई नवप्रवर्तन गरि आधुनिकरण गर्न सफलता प्राप्त भईसकेको छ । यस कार्यलाई सफल तुल्याउन पोखरामा पनि धर्ना कार्यक्रम सुरु गरेका अमरसिंह पुनको योग्दान रहेको छ ।अब नेपाली लोकल रक्सीलाई देशभित्र नै मान्यता दिएर अन्तर्राष्ट्रिय रुपमा पनि बजारीकरण गर्नुपर्छ भन्दै उनले पनि धर्ना दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-