पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफ्नै पार्टी नेपाली कांग्रेसको २७, नेकपा माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको १ गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् ।
यस्तै उनको विपक्षमा नेकपा एमालेका २२ सांसदले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसे ।गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।
सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मुख्यमन्त्री पाण्डेलाई ६० सदस्यीय प्रदेश सभाको बहुमत अर्थात ३५ सदस्यले विश्वासको मत दिएका थिए। नेकपा एमालेका खगराज नेतृत्वको सरकार बैशाख १२ गते ढलेपछि पाण्डे बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्ने भएपनि उनले एक हप्तामै विश्वासको मत लिएका हुन् । यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले आफू दलीय स्वार्थ भन्दा माथि रहेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले विश्वासको मत लिएसँगै उनकोनेतृत्वको सरकारले जनअपेक्षा पूरा गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका छन् ।
उनले यसअघिका सरकारले अघि सारेको पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यलाई निश्कर्षमा पु¥याउने प्रतिबद्धता जनाएका छन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाइ व्यस्त विमानस्थलका रुपमा विकास गर्ने र यसबाट गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सृजना गर्ने उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-