काठ्माण्डौं ।
एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न नेपाल असफल भएको छ । काजकिस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको हो । शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणको च्याम्पियन नेपाललाई ३–२ को सेटमा हराएको हो ।
नेपालले पहिलो सेट हारे पनि लगातार दोस्रो र तेस्रो सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । तर फेरि चौथो र पाँचौँ सेट जित्दै काजकिस्तान फाइनल पुगेको हो ।निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट काजकिस्तानले ३०–२८ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २५–१६ र २५–१५ ले जित्यो । चौथो र पाँचौँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्न सफल भएको हो ।
सेन्ट्रल एसियन भलिबल संघले यस संस्करणमा क्याटागोरी ए र बी टिमलाई एकसाथ गाभेर पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको हो । नेपालले क्याटागोरी बी का टिमहरु सम्मिलित प्रतियोगिताको उपाधि यसअघि दुईपल्ट जितेको थियो ।
अब काजकिस्तानले फाइनलमा आउँदो आइतवार भारतसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनल पुगेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-