काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबारबाट हुने भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने पनि बताएका छन् ।
परराष्ट्रमन्त्री साउदका अनुसार विशेषगरी उक्त भ्रमणमा भारतीय भूमि प्रयोग गरी बङ्लादेशसँग ऊर्जा व्यापार गर्नका लागि भारतको सहयोग लिने विषयलाई प्रमुख विषयका रुपमा कुरा उठाइने जानकारी दिएका छन् ।
नेपालमा पावर उत्पादन गर्ने, जलविद्युत् आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने, एलोसीबाट ट्रान्समिशन लाइनहरु बनाउने र नेपाल—भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने र भारतीय ग्रिट र ट्रान्समिशनलाई प्रयोग गरेर बङ्लादेशमा विद्युत् निर्यात गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कुरा सामेल छन् ।
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गरेका छन् ।
उनले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताएका छन् । उनले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने पनि जानकारी दिएका छन् ।
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा।प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी हुने भएका छन् ।
यस्तै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम समेत तय भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-