पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा र कृषिमा जोड्दिएको छ ।प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा र कृषिमा जोड् दिएका छन् ।
नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले मुटुरोगका विरामीलाई डायलायसिसमा पालो कुर्न पर्ने अवस्थालाई शून्यमा झार्ने लक्ष्य छ । सरकारले अस्पताल बाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ ।
यस्तै क्यान्सर पीडित विरामीलाई थप १ लाख सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप १ लाख सहयोग गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो । यस्तै, ६० वर्ष माथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याव परीक्षण निःशुल्क गर्ने कार्यक्रम ल्याएको छ ।
कृषिमा चक्ला बन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिने लगाएतका कार्यक्रम रहेका छन् । त्यसै गरी गण्डकी प्रदेश सरकारले ठूला विद्यालय, लिड विद्यालय र आवासीय विद्यालय सञ्चालनमा प्रोत्साहन गर्नका लागि सहयोग गर्ने भएको छ ।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले उक्त तीन खालको विद्यालय सञ्चालन गर्नका लागि प्रोत्साहन गर्ने बताएका हुन् । सो विद्यालयहरु प्रत्येक जिल्लामा सञ्चालनका लागि यसै आर्थिक वर्षदेखि स्थानिय तहसँग साझेदारी गर्ने उनले उल्लेख गरे ।
गण्डकी सरकारले उत्पादनको उपयोगमा प्रोत्साहन गर्न‘प्रदेशको उत्पादनः हाम्रो पहिचान’ कार्यक्रम संचालन गर्ने, घरेलु उद्यमीहरुको उत्पादित बस्तुको बजारिकरणका लागि प्रदेश स्तरमा बिक्रीकक्ष स्थापन गर्ने भएको छ ।
त्यस्तै, हस्तकला, काष्ठकला, मूर्तिकला लगायत स्थानीय उत्पादनको बजारीकरण गर्न पर्यटकीय स्थलहरुमा ‘कोसेली घर’ स्थापनाका लागि प्रोत्साहन गर्ने नीति सरकारको छ ।
गण्डकी सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने र गाँजा खेती गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ । हालसम्म प्रतिबन्धित रहेको घरेलु मदिरा र गाँजा खेतीलाई प्रदेश सरकारले व्यवसायीक बनाउनका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने जनाएको छ ।
नीति तथा कार्यक्रममा औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएको छ ।
त्यस्तै गण्डकी सरकारले प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रुपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रंगशाला र अन्र्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने घोषणा गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-