पोखरा ।
पोखरा महानगर सार्वजनिक लेखा समितिको सोमबार बसेको २४ औं बैठकले सार्वजनिक सम्पतिको राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको छ । समितिको सो बैठकले पोखरा महानगरभित्रका सबै सार्वजनिक श्रोत, साधन र सम्पतीबाट प्राप्त हुने राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको हो ।
हाल महानगरभित्र रहेको गुप्तेश्वर गुफा र डेभिडफल, पातले छाँगोको राजश्व छोरेपाटन मा.वि., महेन्द्रगुफा र चमेरो गुफाको विन्ध्यवासिनी मा.वि.ले संकलन गर्दै आएका छन् ।
यस्तै अमरसिंह मा.वि., राष्ट्रिय मा.वि., कालिका मा.वि., बाल मन्दिर मा.वि. लगायत महानगरभित्रका १९ भन्दा बढीका विद्यालयले सार्वजनिक स्रोत, साधन र सम्पतिबाट राजश्व र भाडा संकलन गर्दै आएको समितिले बताएको छ ।
सार्वजनिक लेखा समितिले ती क्षेत्रबाट संकलन हुने राजश्व र भाडा अहिले जसरी छुट्टाछुट्टै उठाएर आफूखुशी रुपमा प्रयोग गर्न नदिन महानगरको ध्यानाकर्षण गराएको छ ।
सो समितिले प्राकृतिक स्रोत साधन र सम्पतिसँगै पर्यटकीय स्थल र महानगरले बनाएको सटरहरुबाट हुने आम्दानीहरु एकमुष्ठ आम्दानीमा जम्मा गर्नपनि निर्देशन दिएको छ ।
त्यस्तै महानगरले पोखरा औद्योगिक क्षेत्र, बसपार्क, सृजनाचोकस्थित भवनमा बनेका सटरलगायतबाट मासिक लाखौं रुपैयाँ आम्दानी हुँदै आएको छ । तर उक्त रकम एकमुष्ठ रुपमा जम्मा नहुँदा तत्काल एकमुष्ठ जम्मा गर्न समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-