पोखरा ।
गण्डकी प्रदेशमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न थालनी हुने भएको छ । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको हो ।
यस प्रदेशको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।
यस्तै भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यवसायीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताको लागि उत्पादनसँग अनुदानको आबद्धता कायम गर्दै लगिने भनिएको छ।
सरकारले ‘एक निर्वाचन क्षेत्र,एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने योजना छ ।
त्यस्तै सरकारले भाँग, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौ लगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ ।
प्रदेशमा उत्पादित कृषि उपजको बेचबिखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गरिने भन्दै सरकारले उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि पालिकासँग आवश्यक समन्वय गर्ने नीति लिइने समेत जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-