सरिता गुरुङ्ग
पोखरा ।
कोभिड १९ को महामारीले विश्व नै आर्थिक संकट उन्मुख हुँदै गईरहेको यस परिस्थितिमा नेपाल पनि अछुतो रहन सकेन । अहिले यो आर्थिक संकट दिनानुदिन झन् बढ्ने क्रमले पनि व्यवसायीहरु निरास भएका छन् । विशेषगरी व्यापार व्यवसायमा आएको ह्रास, बैंकको चर्को ब्याजदर त्यही माथि चर्को घरभाडा र घरबेटीले माग्ने पेश्कीले पछिल्लो समय व्यवसायीहरु निकै मारमा परेका छन् ।
यसबाट व्यवसायीहरु मात्र नभएर घरभाडामा बस्ने विद्यार्थी, मजदुरहरु पनि समस्यामा परेका छन् । यही जटिल परिस्थितिलाई मध्य नजर गर्दै नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरभाडामा ५० प्रतिशतसम्म छुट गर्न आव्हान गरेको छ । समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि घरधनीहरुलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आव्हान गरेको हो ।
समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले दिएको जानकारी अनुसार बैंकको चर्को ब्याजदर, आर्थिक मन्दी र व्यापार व्यवसायमा आएको ह्रासका कारण अहिले पछिल्लो समय धेरै व्यवसायीहरु व्यवसाय नै छाडेर पलायन भएका छन् । कति व्यापारीहरुले यस जटिल परिस्थितिका कारण आत्मदाहसम्म समेत गरेको बताएका छन् । त्यसैले घरबेटीहरुले घरभाडा घटाउनुपर्ने समितिको तर्क छ ।
समितिले दिएको जानकारी अनुसार पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । व्यवसायी पलायन हुनुको प्रमुख कारण घरभाडा तिर्न नसक्नु नै भएको समितिको ठहर छ । घरभाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्नसक्ने समितिका अध्यक्ष न्यौपाने जानकारी दिएका छन् ।
व्यवसाय नचलेका कारण घरभाडा तिर्न नसकिरहेको अवस्थामा घरभाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोहि कारण सहरका धेरै सटरहरु खाली हुने स्थिति आउने समितिको चेतावनी छ । ‘त्यसैले त्यस्तो अवस्था आउन नदिनका लागि घरधनीहरुले राहतको प्याकेजका रुपमा घरभाडा ५० प्रतिशतसम्म घटाउने निर्णय गर्नुपर्ने जरुरी देखिएको समितिको निष्र्कष रहेको छ । यसो गरेमा मात्र व्यवसायी पलायन नहुने र घरका सटर तथा कोठाहरु खाली हुने स्थिति नआउने समितिले जनाएको छ ।
यस्तै समितिले सम्झौता अनुरुप भाडा बढ्ने बेला भएको छ भने अहिलेको यो परिस्थितिमा नबढाउन घरधनीहरुलाई आव्हान समेत गरेको छ । त्यस्तै समितिले सम्पूर्ण घरधनीहरुले घर बहाल कर आफैले तिर्न, भाडा समयमै भुक्तानी गर्न नसके पनि व्यवसायीहरुलाई घर खाली गर्न बाध्य नपार्न र परिस्थिति सहज नभएसम्म बाचौं र बचाऔं भन्ने मूल मन्त्रलाई आत्मसात गरी सबैको हित हुने कर्म गर्न आव्हान पनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-