पोखरा ।
स्रोत, कृषि, पर्यटनलगायतको क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजनामा गण्डकी प्रदेश सरकार रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताएका हुन् ।
उनले यस प्रदेशमा बुढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र पर्ने हुनाले पनि विद्युतिय उत्पादनको सम्भावना प्रशस्त मात्रामा रहेको बताए । यसका लागि ऊर्जा क्षेत्रमा राज्य एक्लैले मात्र केही गर्न नसक्ने तर यसको लागि निजी क्षेत्रसँग सहकार्य गरेरै भएपनि लामो समयसम्म आम्दानी गर्न सक्ने जानकारी दिए ।
यससँगै गण्डकी प्रदेशको मुख्य आयस्रोतको माध्यम भनेको नै पर्यटन क्षेत्र भएकोले पनि विभिन्न देशहरुबाट पर्यटक भित्र्याएर प्रदेश सरकारको आयस्रोत वृद्धि गर्दै आत्मनिर्भर प्रदेश बनाउने योजनामा प्रदेश सरकार रहेको बताए । उनले गाँजा खेती तथा घरेलु मदिरलाई ब्रान्डिङ गरेर प्रशस्त आम्दानी गर्नसक्ने अवस्था रहेको हुँदा आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताए ।
त्यस्तै एक फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको चाहनाअनुसार आएको व्यवस्था भएकाले कसैले नचाहँदैमा गणतन्त्र नउल्टिने पनि स्पष्ट पारेका छन् । उनले अहिलेको व्यवस्थालाई स्वीकार गरेर संविधानलाई मानेर संसद्मा पुगेका व्यक्तिले गणतन्त्रकोविरुद्ध बोल्नु उचित नभएको उल्लेख समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-