सरिता गुरुङ्ग
पोखरा ।
विद्यालय त्यस्तो पवित्र मन्दिर हो जहाँ विद्यार्थीहरुले शिक्षा आर्जन गर्छन । प्रतेक अभिभावक आफ्ना सन्तानले उत्कृष्ट शिक्षा हासिल गरुन भन्दै नाम चलेका विद्यालय खोजेर भर्ना गर्छन । पोखरा–५, बासबारी चोक निवासी शिव खतिवडाले समेत आफ्नो सन्तानलाई शिक्षाको क्षेत्रमा लामो इतिहास बोकेको पोखराको नामी विद्यालयको रुपमा स्थापित कुमुदीनि होम्समा अध्ययनका लागि छोराको भर्ना गराएका छन् । उनको ११ वर्षिय छोरा संघर्ष खतिवडा त्यहाँ कक्षा ५ को सेक्सन सि मा अध्ययनरत छन् ।
उनी सधै विद्यालयको बसमा विद्यालय आउने जाने गर्छन् । आज पनि उनी अध्ययनको लागि विद्यालय गए तर जब विद्यालय विदा भएर घर फर्कने क्रममा स्कुल बस चढे उनको स्वास्थ्य अवस्था अलि ठिक नभएको महशुस गरे । स्कुल बसमा घर फर्कदै गर्दा बीच बाटोमा नै उनी अचान काप्न थाले र अनकन्सीयस हुन पुगे ।
ती छात्र जो बिरामी भई राम्रोसँग होसमा समेत थिएन उनलाई स्कुल बसका चालक र विद्यार्थी चढाउन र झार्नको लागि राखिएका कर्मचारीले वेवास्त गरी बीच बाटोमा नै झारिदिने काम गरे । जबकी विद्यालयले विद्यार्थी घर नपुगेसम्म उनीहरुको जिम्मेवारी हुने गर्छन । तर विद्यालय आफ्नो जिम्मेवारीबाट पछि हटेको यस घटनाले देखाएको छ । अहिले ती बालक संघर्ष खतिवडा पोखराको बसपार्क स्थित साहारा हस्पिटमा उपचारत अवस्थामा छन् । त्यहाँ उनको उपचार भइरहेको छ ।
यस विषयमा बुझ्नका लागि प्रमुख मिडियाको टिम आज त्यहाँ पुगेको थियो । सो क्रममा हामीले ती बालकसँग उक्त घटनाको विषयमा कुराकानी गरेका थियौं । कुराकानीको क्रममा ती बालकले, म गाडीभित्र नै फेन्ट भएको रहेछु, शरीरले धान्न नसक्ने भएकोले सोही बसभित्र रहेका आफुभन्दा सिनियर दाईहरुले घर भन्दा १०० मिटर तल बोकेर बसबाट झारिदिएको तर बसका चालक र अर्का सहयोगीले भने कुनै मद्दत नगरेको उनले भने ।
उनले आफुलाई बसबाट झारिदिएको ठाउँका अङ्कल र आन्टीहरुले आएर पानी दिएको र तिमी कसको छोरा हौं भन्दै सोधेको बताए । उनका अनुसार उनीसँगै रहेको बहिनीले हाम्रो बुबाको नाम युवराज खतिवडा भएको बताएको जानकारी दिए । युवराज खतिवडा संर्घषका सानो बुबा हुन् । यसरी त्यहाँका मानिसहरुले उनको फोन नम्बर पत्ता लगाएर फोन गरेपछि मात्र यस घटनाको बारेमा आफुले थाहा पाएको खतिवडाले बताएका छन् ।
उनले विद्यालयका कर्मचारीबाट जुन किसिमको गैरजिम्मेवारी पूर्ण काम भएको छ यो अत्यन्त दुःखद भएको बताए । उनले हरेक बुबा आमाले आफ्नो सन्तानले पारिवारिक वातावरणमा बसेर उत्कृष्ट शिक्षा हासिल गरुन र विद्यालय भनेको दोस्रो घर भएको भन्दै अध्ययनको लागि विद्यालय पठाउने बताए । यतिमात्र नभएर प्रतेक विद्यार्थीहरुले धेरै जसो समय घरमा भन्दापनि विद्यालयमा बिताउने गरेको समेत जानकारी दिए । तर विद्यालयबाट नै यस्तो लापरवाही हुन्छ भने हामीले के को विश्वासको आधारमा आफ्नो सन्तानलाई विद्यालय पठाउने भन्दै गुनासो पोखेका छन् ।
त्यस्तै यही विषयमा हामीले सो विद्यालयका संस्थापक अशोक पालिखेसँग टेलिफोनमार्फत कुराकानी गरेका थियौं । सो क्रममा उनले यस विषयमा कुराकानी गर्न आनाकानी गरेका थिए । उनले उक्त घटनालाई लिएर आफु सम्बन्धीत व्यक्ति नभइ स्वयम अभिभावक नै भएको भन्दै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएका थिए । यससँगै उनले ती बालक संघर्षलाई भैरव लागेकोले त्यस्तो भएको समेत बताए ।
विद्यालयकोतर्फबाट के कस्ता कमजोरी भएका हुन् त्यस विषयमा आफुले खतिवडासँग कुरा गरिसकेको बताए । तर यता, यस विषयमा खतिवडासँग बुझ्दा विद्यालयको कमजोरी भएको र सबैभन्दा चित्त नबुझ्दो कुरा भनेको नै अभिभावकलाई कुनै खबर नै नगरी बच्चालाई बीच बाटोमा नै छोड्नु ठूलो गल्ती भएको बताए ।
उनले बच्चालाई हस्पिटलमा भर्ना गर्दाको समयसम्म पनि विद्यालयको तर्फबाट एक जना पनि त्यहाँ आफ्नो बच्चाको स्वास्थ्य अवस्थाको बारेमा बुझन नआएको जानकारी दिए । अहिले बच्चाको अवस्था भने अलि सामान्य रहेको र विशेषगरी कमजोरीका कारण बच्चालाई सो किसिमको समस्या देखिएको पनि उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-