काठ्माण्डौं ।।
चीनको पर्यटकीय शहर छिङ्दाओमा हिमालय एअरलाइन्सले हवाई उडान शुरु गरेको छ । चीनसँगको गन्तव्य विस्तारका लागि उक्त एअरलाइन्सले आजबाट काठ्माण्डौंदेखि चार्टड उडान शुरु गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङदाओको पहिलो उद्घाटन उडानमा रहेका यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र हिमालय एअरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गरेका छन् ।
स्वागत पश्चात पर्यटनमन्त्री किराँतीले हिमालय एअरलाइन्सले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा पहिलो पर्यटक उडान भरेर पर्यटनका लागि महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । उनले छिङदाओमा चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।
त्यस्तै हिमालय एअरलाइन्स कम्पनीले दिएको जानकारी अनुसार चीनका कम्तीमा १० गन्तव्यमा आफुहरुको विमानले उडान भर्ने लक्ष्य राखेको जानकारी बताएको छ । विशेषगरी यस उडान चिनियाँ पर्यटकका लागि लक्षित रहेको कम्पनीले जनाएको छ ।
हप्ताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आउँदा दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एअरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । यस एअरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-