पाेखरा ।।
“मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार”बाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित भएका छन् ।
गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले आफ्नो जन्मोत्सवको अवसरमा स्थापना गर्नुभएको मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार बिनु र २०८० बाट तारा सम्मानित हुनुभएका हुन् ।
पत्रकार द्व्यलाई गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जनही नगद रु २० हजार १ सय ११ रुपैयाँ सहित दोसल्ला र प्रमाण-पत्रले सम्मान गर्नुभएको थियो ।
संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको थियाे ।
सम्मानित हुनु भएकी पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत हुनुहुन्छ । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गर्नुभएकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसक्नुभएको छ ।
हाल उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष हुनुहुन्छ ।
यस्तै पत्रकार तारा पौडेलले २०६८ मा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गर्नुभएकाे थियाे । हाल उहाँले न्यू मिडिया प्रा.लि. बाट सञ्चालित सिटीपोखरा डटकमको सञ्चालक र सम्पादक भएर काम गरिरहनुभएको छ ।
यसअघि उहाँले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी, विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपाल न्यूज डटकम जस्ता संचार माध्यममा समेत काम गर्नुभएको थियो ।
उहाँले नेपाल वातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रम नयाँ पुस्तामा पनि काम गर्नुएको थियो ।
नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्य भएर काम समेत गर्नुभएकी हाल तारा प्रेसचौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुनुहुन्छ ।
प्रतेक वर्ष वितरण हुँदै अाएकाे यस पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पंगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित पनि भइसक्नुभएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-