काठमाडौं ।।
आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।
राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले बताए।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो। गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।
प्रतिक्रिया लेख्नुहोस्:-