पोखरा ।।
कोलिन स्मिथ अर्थात् पुतली बाजेको निधन भएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि विगत २ महिनादेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उनको शुक्रबार राति ३ बजे निधन भएको हो ।
कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ जसले पुतलीसँग रमाउँदा आफ्नो देश बिर्सर नेपालमा नै बस्दै आएका थिए । कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
२९ वर्षको उमेरमा नेपाल आएका उनी ८८ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययन सहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षण गराए ।
नेपालको डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन् । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको योगदान रहेको छ ।
यस्तो छ उनको योगदान
बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।
उनी पोखरा महानगरपालिका वडा १८ स्थित लामागाउँमा बस्दै आएका थिए । विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा उनी युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका थिए ।
पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको स्कुलमा पढाउन गएका थिए । त्यहाँ उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र (दिवंगत) डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाएका थिए ।
गोरखामा २ बर्ष पढाएर उनि फेरी पोखरा फर्के र केहि बर्ष पृथ्बी नाराएण क्याम्पसमा फिजिक्स बिषय अध्यापन गरे । सानै देखि पुतली प्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आए देखी नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतली को अनुषन्धान र खोजमा लागे ।
५० भन्दा बढी जिल्ला पुगेका उनले नेपालमा ६ सय ५० जातिका पुतली पाइने कुरा पत्ता लगाए जस मध्य ५ सय ५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विश्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।
पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-