पोखरा ।।
कास्कीको अन्नपूर्ण गाउँपालिका—४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे, कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए ।
‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’
भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।
खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-