पोखरा ।।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई जेल चलान भएका छन् ।
बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।
मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी यस अगाडी पुर्पक्षका लागि जेलचलान भएका छन् ।
सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्धा दायर भएको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-