पोखरा ।।
गाई वा भैंसीको दूध दुहेको तीन घण्टा भित्रमा तताईसक्नु पर्छ । नत्र उक्त दूध उपभोगका लागि स्वस्थ मानिदैन । त्यसैले गोठमा दुहेको दूध तीन घण्टा भित्रमा उपभोक्ताको घरदैलोमा पुगिसकेको हुनुपर्छ ।
तर पोखरामा घण्टौपछि मात्रै उपभोक्ताको घरमा पुग्ने गरेको छ । तराईबाट ल्याएको दूध ढिलो गरेर मात्र उपभोक्ताको घरमा पुग्ने गरेको छ । त्यो पनि तराईको दूध भनेर नभई पोखराको स्थानिय (लोकल) दूध भनेर उपभोक्तालाई बेच्ने गरेको पाइएको छ । केहि डेरी उद्योग तथा किसानहरुले उपभोक्तालाई पोखराको लोकल दूध भनेर झुक्याउँदै तराईको दूध बेच्ने गरेको पाइएको हो । यसले उपभोक्ताको अधिकार कुण्ठित भएको छ ।
पोखरामा लोकल दूधको नाममा तराईको दूध बेच्ने गरेको पाइएको नेपाल डेरी फार्मर्स संघ र राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकीका अध्यक्ष दीपक तिमिल्सीनाले बताए । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘यहाँ हाम्रो पोखरा को टाउको राखेर तराईको दूध बेच्ने गरिएको छ ।’ तराईको दूध बेच्न पाईन्छ तर पोखराको दूध भनेर तराईको दूध बेच्न नपाईने उनको भनाई छ । ४/५ वटा गाई/भैंसी पाल्छन् तर दैनिक १ सय लिटर भन्दा बढी दूध बिक्री गर्छन्,उनले भने,‘यो कसरी सम्भव हुन्छ ? यो त सरासर तराईको दूध मिसाएर पोखराको भन्दै बेचेको हो ।’
तिमिल्सीनाले तराईको दूध पोखराको लोकल दूध भन्दै बेच्दापनि सरकार र प्रशासन मुक दर्शक बनेको टिप्पणी गरे । लोकल दूध भनेर तराईको दूध खुलमखुल्ला बिक्री भइरहेको छ,उनले भने,‘तर स्थानिय, प्रदेश र संघ सरकार अनि नियमनकारी निकाय मुकदर्शक बनेर बसेका छन् ।’ उनले यस्तै अवस्था रहिरहे स्थानिय किसान बिस्थापित हुने चिन्ता व्यक्त गरे । २०७२ सालमा गोठ देखि ओठसम्म भन्ने नाराले आकर्षित भएर दूध उत्पादनका लागि पशुपालनमा लागेका थियौं,उनले भने,‘तर अहिले ठग डेरी र किसानका कारण हामी समस्यामा पर्यौं । यसले बिस्थापनको खतरा उत्पन्न भएको छ ।’ दरिद्र मानसिकता भएका केहि किसान र डेरीका कारण अहिले बास्तविक किसान बदनाम भएको उनको जिकीर छ ।
राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्दप्रसाद निउरेले तराईका अखाद्य वस्तु मिश्रण भएको दूध पोखरा ल्याएर बिक्री भइरहेकाले यो तत्काल रोक्नुपर्ने बताए । नत्र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुने र स्थानिय किसानपनि समस्यामा पर्ने बताए ।
पोखरा महानगरपालिकाका पशु महाशाखा प्रमुख नवराज अधिकारीले तराईको दूध पोखराको लोकल भन्दै बेचेको बारे अनभिज्ञता प्रकट गरे । पत्रकार सम्मेलनमा उपस्थित उनले भने,‘योबारे जानकारी भएन । पहिलोपटक सुन्दैछौं । अब बुझेर कदम चाल्छौं ।’ यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानिय तह तथा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयसमेत लाग्नुपर्ने बताए । उनले घरमा आफैले उत्पादन गरेर आफैले प्रयोग गर्ने दूधसमेत जोडेर पोखरामा ८० हजार लिटर दूध दैनिक रुपमा उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार पोखरामा छिमेकी जिल्लाबाट दैनिक ३५ हजार लिटर र तराईबाट २० हजार लिटर दूध आउने गर्छ ।
खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज दाहालले आयात रोक्ने नरोक्ने वा गुणस्तर जाँच्ने काम स्थानिय तहको भएको बताए । ‘हामीले त प्रशोधनबारे मात्र हेर्छौं, त्योपनि उद्योगहरुको मात्र’–उनले भने । सोहि कार्यालयका गुणस्तर हेर्ने प्राविधिक शिव बरालले गुणस्तर नपुगेको पाइएपनि कारवाही गर्ने अधिकारी आफूहरुसँग नभएको बताए । उनले भने,‘हामीले त गुणस्तर सुधार्न सुझाव दिनेमात्र हो ।’
यसैबीच, नेपाल डेरी फार्मर्स संघ र राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाई लगानी सुरक्षित गर्न र कृषकलाई यस पेशाप्रति आकर्षित गर्नका लागि १० बुँदे सुझाव सरकारसमक्ष पेश गरेको छ । संघ र समाजले संयुक्त रुपमा उत्पादित वस्तुको बजार अभाव भएको भन्दै त्यसको व्यवस्थापन गर्न, बैंकको ऋणमा सहजीकरण गर्न, दुग्धजन्य पदार्थको आयातमा प्रतिबन्ध गर्ने तथा निर्यातका लागि पहल गर्न, कृषि अनुदान कर्जाको सीमा ५ करोडबाट बढाएर २० करोड पुर्याउन कृषि कर्जाको समयसीमा ५ बर्षबाट बढाएर २० वर्ष पुर्याउ माग गरेको हो ।
त्यस्तै पशुपालन व्यवसाय कर्जालाई अहिले कृषि अन्तर्गत नै राखिएको तर अब छुट्टै व्यवस्थापन गर्न, खरिद मूल्यका आधारमा पशु बीमा गर्न, कृषि तथा पशुपालनजन्य उपकरणहरुमा शून्य भन्सार लागु गर्नुपर्ने, बाहिरबाट आएका दूधलाई प्रशोधन गरेर मात्र विक्री वितरण गर्ने व्यवस्था हुनुपर्ने र बाहिरबाट आएका दूध र स्थानिय दूधको वर्गिकरण गर्न मागसमेत संघ र समाजले गरेको छ ।
राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्दप्रसाद निउरेले माग पूरा नगरे हजारौं किसान मारमा पर्ने बताए । यी मागहरु तत्काल पूरा गर्नुपर्ने भन्दै उनले भने,‘होईन भने हजारौं बेरोजगार र अर्बौंको लगानी डुब्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-