पोखरा ।।
चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब सेमिफाइनलको खेल जित्दै फाइनल प्रबेश गरेको हुन् ।
घरेलु टोली गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
हेल्प नेपालले श्रीलंका आर्मीलाई २५–१८, २५–१४, २५–१८ र २६–२४ ले जित्दै उपाधि नजिक पुगेको हो । त्यस्तै गण्डकीले विभागिय टोली एपिएफलाई २५–१७, २५–२० र २५–२२ ले जित्दै फाइनलमा स्थान बनायो ।
गण्डकी प्रदेश भलिबल संघ यस अघि पहिलो र तेश्रो संस्करणको टाइगर कपको उपाधि जितेको छ भने टिप टप हेल्प नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । गण्डकीले तीनजना भारतीय खेलाडी टिममा समावेश गर्दा टिप टपले तीन जना पाकिस्तानी खेलाडी समावेश गरेको छ ।
यस्तै महिला तर्फ शुक्रबार भएको तेश्रो स्थानको खेलमा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । आर्मीले पुलिसलाई २५–१७, १८–२५, २५–२० र २५– १९ सेटले जित्दै तेश्रो स्थान प्राप्त गरेको हो ।
जीत संगै आर्मीले नगद १ लाख २५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । महिला तर्फ उपाधिका लागि एपिएफ र न्यु डायमण्ड शनिबार खेल्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-