पोखरा ।।
यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ ।
गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, वस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र वस्तुभाउ जलेर नष्ट भएको थियो ।
तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो ।
सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले अलिकति भएपनि राहत पाउने बताउनुभएकाे छ ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी नै पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यूनाइटेड क्लबले २०७२ को बिनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद ब्यवस्थापन कोष निर्माण गरी अगाडी बढेको बताउनुभयाे ।
उक्त कोषका लागि हरेक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको समेत जानकारी दिनुभएको छ ।
क्लबको सामाजिक दायरा फराकिलो रहेको वताउदै अध्यक्ष श्रेष्ठले क्लवले हालसम्म पश्चिमको कैलालीको कैलारी गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद ब्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाउनुभयाे ।
सो अवसरमा बाेल्दै आगलागीबाट पूर्ण रुपमा क्षती भएका यदुनाथ पाध्याले आफुहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बांकी नरहेको बताउदै सहयोगीहरुको साथले आफुमा आत्मबल थपिएको बताउनुभयो ।
उक्त कार्यक्रममा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाजबाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो ।
बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैँया बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्धारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएकाे हाे ।
प्रतिक्रिया लेख्नुहोस्:-