पाेखरा ।।
राइड सेयरिङको विरोध गर्दै आन्दोलनरत यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबिचकाे वार्ता मिलेको छ ।
प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू अाज विहानबाट नै आन्दोलनमा उत्रिएका थिए ।
अान्दाेलित व्यवसायहरुले अाज दिनभर सार्वजनिक यातायात सेवा नै ठप्प पारेसँगै सर्वसाधाण मारमा परेका थिए ।
अाज दिउँसो भएको सरकार पक्ष र यातायात व्यवसायीबीचकाे वार्तामा तत्काल सरकारले समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरेसँगै उनीहरु सहमतिमा अाएका हुन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि र यातायात मजदुरमध्येबाट एक जना प्रतिनिधि सदस्य रहेका छन् ।
समितिले सबै पक्षको ज्ञापनपत्र हेरेर १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस गर्ने भएको छ ।
त्यस्तै कार्यदल गठन भएसँगै आजदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम भने स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-