पाेखरा ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप फेर्ने र अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।
पाेखरेली जनताबाट रास्वपाले साेचे अनुरुपकाे साथ र सर्मथन नपाएको भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको हाे ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले गत ६ दिनदेखि पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो ।
रास्वपाका प्रदेश सभापति राजन गौतमले बिहीबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै पोखराको आन्दोलन आज अन्तिम भएको र भाेलि शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनलाई गर्ने जानकारी दिए ।
सत्तारुढ ठूला दललाई देखाउनपनि काठमाडौं केन्द्रीत आन्दोलन गर्न लागेको उनले बताए ।
यस्तै रास्वपा प्रवत्ता मनिष झाले सहकारी बचत पीडितको आन्दोलनमा घुसपैठ हुने देखेकाले मूठभेड नहोस् भन्नका लागि आन्दोलनको स्वरुप फेरेको बताए ।
पीडितको नाममा आह्वान भएको यस आन्दोलनमा कांग्रेस, एमाले सहभागी भई घुसपैठ गर्न सर्कुलर नै जारी गरेको भन्दै त्यसकाे प्रमाण अाफुहरुसंग भएको बताए ।
यसले गर्दा पनि अान्दाेलनले अर्को रुप नलियोस् भन्नेमा अाफुहरु सचेत रहेकाे बताए । तर रास्वपाले यसाे भनिरहँदा वास्तविकता भने उनीहरुकाे यस अान्दाेलनलाई पाेखरेलीकाे साथ नभएकै कारण नै उनीहरु बाध्य भएर अान्दाेलनकाे स्वरुप फेर्न बाध्य भएका हुन् ।
यता, पाेखरामा रास्वपाको आन्दोलन चलिरहँदा सहकारी बचत पीडितहरुले विहीबारदेखि बृहद प्रदर्शन शुरु गरेका छन् ।
रास्वपाले आन्दोलन गरिरहेकै स्थल वरपर सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिको आह्वानमा सहकारी बचत पीडितहरुले बृहद प्रदर्शन शुरु गरेका हुन् । जसका कारण पनि रास्वपा यस आन्दोलनबाट व्याक भएको हाे स्राेतले जनाएको छ ।