साफ महिला च्याम्पियनसिप:अत्यन्तै तनावपुर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा
  • प्रमुख खबर

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–० ले हराएको हो ।

त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

आज खेल निकै तनावपुर्ण बनेको थियो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

त्यसअघि खेलको ७१औँ मिनेटमा नेपालले ‘विवादित गोल’ गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो ।

दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित ‘प्ले अन ह्विसिल’पछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको  ‘बराबरी गोल’ खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् ।

रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग फाइनल खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्