रुपन्देही ।।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन विरुद्ध पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । उनीहरु विरुद्धको मुद्दा अाइतबार दर्ता भएको हाे ।
पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता भएका २२ जनामध्य १७ जनाविरुद्ध थप मुद्दा समेत दर्ता भएको छ ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताकाे १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ।
उक्त बचत रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगानी भएको देखिएकाे छ ।
साेही रकम अपचलन विरुद्ध प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।