चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ। बुधबार अदालतमा थुनछेक बहस नसकिएकाले उनलाई हिरासतमा राख्ने निर्णय गरिएको हो।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ। अदालतले बिहीबार बिहान ११ बजे थप बहसका लागि उनलाई पुनः उपस्थित गराउने आदेश दिएको छ।
३८ करोडको ठगी प्रकरणमा मुद्दा
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गर्दै मंगलबार मुद्दा दायर गरिएको थियो।
बुधबार अदालतमा जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे भने सरकारी वकिलतर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी, र बुद्धबहादुर थापाले बहस गरेका थिए।
भोलि सरकारी वकिलका थप तीनजना वकिल सहभागी हुनेछन् भने रविको पक्षबाट १० जना कानुन व्यवसायी बहस गर्ने बताइएको छ।