काठमाडौं /डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको पुष्टि गर्दै औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गरिने जानकारी दिएकी छन्।
यसै क्रममा, नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ, जहाँ नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ। साथै, अध्यक्ष भट्टराईले विशेष सम्बोधन पनि गर्नेछन्।
गत आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको हो। यसअघि, महाधिवेशनको बन्दसत्रबाट भट्टराईद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरिएको थियो।