पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यालयले कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्न लहरे बालीको बीउ वितरण गरेको छ। सोमबार आयोजित विशेष कार्यक्रममार्फत वडा भित्रका किसानलाई कृषि संजाल पोखरा-३१ को समन्वयमा बीउ हस्तान्तरण गरिएको हो।
कृषि संजालका अध्यक्ष केशबराज तिवारीका अनुसार न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल काँक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको बीउ वितरण गरिएको छ। यस वितरण कार्यक्रमबाट ४८ वटा आमा समूह, टोल विकास संस्था, र कृषि समूहहरू लाभान्वित भएका छन्। समूहमार्फत प्राप्त बीउहरू किसानहरूको घर-घरमा पुर्याइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवनस्तर उकास्न र आयआर्जनमा टेवा पुर्याउन बीउ वितरण गरिएको बताउनुभयो। उहाँले कृषकहरूलाई उक्त बीउको सही सदुपयोग गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो।
कार्यक्रम कृषि संजाल पोखरा-३१ का अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन वडा कार्यालयका सूचना अधिकारी माधवराज तिमिल्सिनाले गर्नुभएको थियो।