महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप : उपाधिका लागि नेपाल र म्यानमार आमनेसामने
  • प्रमुख खबर

पोखरा/ नेपाल र म्यानमार बुधबार महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधिका लागि भिड्दै छन्। दुवै टोली उपाधि जित्ने दाबी गर्दै उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छन्।

मंगलबार आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले फाइनलका लागि टिम पूर्ण रूपमा तयार रहेको बताए।

नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले टिमले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको र अब उपाधिका लागि निर्णायक खेलमा पुरा क्षमता लगाउने बताइन्। म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पनि फाइनल खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवै टोलीले ७ अंक जोड्दै फाइनल यात्रा तय गरेका थिए, जसमा म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो।

नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले हराएको थियो भने म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले पराजित गरेको थियो। लिग चरणमा नेपाल र म्यानमारबीचको खेल २-२ को बराबरीमा सकिएको थियो।

नेपाल र म्यानमारबीच हालसम्म चार पटक भिडन्त भएको छ, जसमा नेपालले जित हात पार्न सकेको छैन। म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो।

नेपालको उत्कृष्ट प्रदर्शन र घरेलु मैदानको फाइदा उठाउँदै यसपटक इतिहास बदल्न सफल हुन्छ कि म्यानमारले आफ्नो दबदबा कायम राख्छ? यो प्रश्नको उत्तर बुधबारको फाइनलले दिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्