पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले पुर्पक्ष थुनाबाहिरै गरियोस् भन्ने मागसहित दायर गरेको पुनरावेदन निवेदन सर्वोच्च अदालतको न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार उक्त निवेदन दर्ता गराएका थिए। निवेदन उनकी श्रीमती निकिताले दर्ता गराएकी हुन्। यस मुद्दालाई ढुंगानाको इजलासमा पहिलो नम्बरमा पेशी तोकिएको छ।
यसअघि १३ माघ २०८१ मा रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उक्त आदेशलाई लिएर सरकारी वकिल र रवि दुवै पक्ष उच्च अदालत बुटवल पुगेका थिए।
सरकारी पक्षले रविलाई थुनामै राख्नुपर्ने माग गरे पनि रविले साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए। दुवै पक्षको निवेदन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले संयुक्त रूपमा सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश खारेज गरी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्ने बताएका छन् र शरीरमा रगत बग्दासम्म लडाइँ जारी राख्ने दृढता व्यक्त गरेका छन्।









