“रुटिन अफ नेपाल बन्द”लाई सूचना आयोगको आदेश : ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन
  • प्रमुख खबर

 

काठमाडौं/ सामाजिक सञ्जालमा चर्चित पेज ‘रुटिन अफ नेपाल बन्द’लाई राष्ट्रिय सूचना आयोगले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते सो पेजसँग सूचना माग गरेका थिए। तर, पेज सञ्चालकले तोकिएको समयभित्र कुनै पनि जानकारी उपलब्ध गराएनन्। चौधरीले त्यसपछि पेजको कार्यालय प्रमुखलाई समेत उजुरी गर्दै पुनः सूचना माग गरेका थिए।

तर, सूचना नपाएपछि चौधरीले सूचना अधिकारी र कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गरेका थिए। पुनरावेदनपछि आयोगले रुटिन अफ नेपाल बन्दलाई औपचारिक रूपमा पत्र पठाउँदै कारणसहित लिखित जवाफ माग गरेको हो।

आयोगको आदेशमा भनिएको छ, “सूचना दिनु नपर्ने कुनै वैधानिक कारण भए त्यसको आधार र प्रमाणसहित ७ दिनभित्र आयोगसमक्ष लिखित जवाफ पेस गर्नू।”

सूचना नदिएमा सम्बन्धित व्यक्ति तथा संस्थामाथि सूचना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्ने चेतावनी समेत आयोगले दिएको छ।

सूचना पाउने नागरिकको हक सुनिश्चित गर्न आयोगले यसप्रकारको कडा कदम चालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्