पोखरा/ इन्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन एक गम्भीर सवारी दुर्घटनामा परेका छन्। चम्पावतबाट दिल्ली जाँदै गर्दा अमरोहास्थित गजरौलाको राजमार्गमा उनको कार राजमार्गको कटमा उभिएको क्यान्टरमा ठोक्किएको हो।
दुर्घटनामा पवनदीपका दुवै हात र खुट्टा भाँचिएको बताइएको छ, भने उनी गम्भीर अवस्थामै उपचाररत छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र तस्बिरहरूमा उनी अस्पतालको ओछ्यानमा अचेतजस्तै देखिन्छन्, र चिकित्सकहरू उनको उपचारमा खटिएका छन्।
यस दुर्घटनामा उनका दुई साथीसमेत गम्भीर घाइते भएका छन्। हाल उनीहरूको पनि उपचार भइरहेको जनाइएको छ। पवनदीपको स्वास्थ्य अवस्थाबारे उनका प्रशंसकहरू चिन्तित छन् र छिटो स्वास्थ्यलाभको कामना गरिरहेका छन्।











