पोखरा/ भारत र पाकिस्तानबीच चर्किंदो द्वन्द्वका कारण दक्षिण एशियाली आकाशमा तीव्र तनाव देखिएको छ। यस क्षेत्रीय तनावको असर नेपालमा पनि परेको छ। विशेषगरी युरोप र मध्यपूर्वबाट नेपाल आउने अन्तर्राष्ट्रिय उडानहरूमा प्रत्यक्ष प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
बुधबारदेखि स्थिति झन् गम्भीर बनेसँगै टर्की, कतार, दुबई, कुबेत, साउदी अरेबियाजस्ता देशहरूबाट काठमाडौं आउने तथा फर्किने करिब ३० वटा उडानहरू प्रभावित भएका छन्। तीमध्ये आधा नेपाल आउने र बाँकी फर्किने उडानहरू हुन्। आकाश मार्गमा देखिएको असुरक्षाका कारण कतिपय उडानहरू ढिलो भएका छन् भने केही उडानहरू रद्दसमेत गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार स्थिति सामान्य हुन अझै केही समय लाग्न सक्छ, जसले अन्तर्राष्ट्रिय यात्रुहरूलाई थप असहज बनाएको छ।